फोहर व्यवस्थापनको जिम्मा पर्यटन विकास समितिले

नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ।
नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि नगरकोटको पर्यटकीय क्षेत्रको फोहर व्यवस्थापन समितिले गर्न सुरु गरेको समितिका अध्यक्ष दीपक लामिछानेले जानकारी दिए।
सफा र सुरक्षित नगरकोट नारा दिएर समितिले नगरकोट आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फोहर फाल्न विभिन्न ठाउँमा बाकस तथा डोको राखिदिएको छ।
फोहर व्यवस्थापनका लागि चालक, सहचालक र डिजेलका लागि लाग्ने वार्षिक १० लाख रुपैयाँको खर्च समितिले नै गर्ने भएको छ। समितिले सङ्कलित फोहरलाई रिसाइकल गर्ने र नकुहिने फोहरको सही व्यवस्थापन तथा कुहिने फोहरबाट कम्पोस्ट मल बनाउने अध्यक्षले बताए।