लाङ्टाङ स्थानीय व्यवसायीले मनग्य आम्दानी

लाङ्टाङ खोला पदमार्गमा स्थानीय व्यवसायीले मनग्य आम्दानी लिन थालेका छन् ।

गत फागुन ९ गतेदेखि सञ्चालनमा आएको बम्वु क्षेत्रको तिब्बत गेस्ट हाउसले दुई महिनाको अवधिमा रु दुई लाख ५० हजार आम्दानी गरेको उक्त गेस्ट हाउसका प्रबन्ध सञ्चालक क्याप छिरिङले बताए । लाङटाङ खोलातीरको पैदल मार्गबाट दिनहुँ सरदर १५ जना पर्यटक ओहोरदोहोर गर्न थालेका छन् ।

लाङ्टाङ पुनःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष पेम्बा लामाका अनुसार लाङ्टाङ पर्यटकीय पदमार्ग खुलिसकेको र स्याफ्रुबेँसीबाट क्याङजेनसम्म होटल सञ्चालनमा आइसकेका कारण पर्यटकलाई पदमार्गमा खानबस्न समस्या नपर्ने बताउँदै क्याङ्जेनमा ३०० र लाङटाङमा १०० जना बस्ने क्षमताका होटल रहेको जानकारी पनि दिए ।