पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रारम्भिक काम सुरु

पोखरा विमानस्थल लागि सरकारले  एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ ।

माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो । वैशाख १ गते प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।

विमानस्थल निर्माणको प्रक्रिया पछिल्ला केही महिनादेखि मात्रै गति लिएको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चीनको आयात निर्यात बैंकले रु २१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । चीनले उपलब्ध गराउने ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्ने छ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज लाग्ने छैन ।

चिनिया प्रविधिज्ञले विमानस्थल निर्माणसम्बन्धी प्रारम्भिक काम सुरु गरिसकेका छन् ।