७ वटै प्रदेशको पर्यटन विकासको गुरुयोजना :पर्यटन मन्त्री शाही

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन्।
बिहीबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शाहीले भने, ‘मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ५/६ वटा बोइङ र आन्तरिक उडानको लागि १०÷१२ वटा विमान ल्याउने योजना बनाएको छु ।’
उनले भने, ‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो बीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौँ, पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौँ।”
भूकम्पबाट क्षति भएको सम्पदाको पुर्ननिर्माणको लागि लाग्ने खर्च योजनासहित एक महिनाभित्र मन्त्रालयमा बुझाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको बताए। उनले अघि थपे, ‘पर्यटन सम्पदाहरु तत्काल बनाउनुपर्छ, भुकम्पबाट क्षति भएका सम्पदाहरुको पूर्ननिर्माण धिमा गतिमा भैरहेको छ, मैले सम्बन्धित सबै निकायहरुलाई एक महिनाभित्र कार्ययोजना ल्याउन निर्देशन दिईसकेको छु।’
 ७ वटै प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत उनले बताए। शाहीले थपे, ‘कुन प्रदेशमा कस्ता–कस्ता विमानस्थल बनाउनुपर्छ, पर्यटन विकासको लागि कस्तो पूर्वाधार चाहिन्छ, सम्भावनाहरु के के छन भनेर मैले रिपोर्ट मागेको छु ।’
पोखरा, निजगढ, भैरहवा लगायतका विमानस्थल निर्माण कार्यलाई तिव्रताका साथ अगाडि बढाउने भन्दै वेभसाईट मार्फत प्रगति विवरण सार्वजनिक गर्न निर्देशन दिएको जनाए। त्यस्तै उनले २८ वर्षदेखि निर्माणाधिन कालिकोटको कोटवाडा विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।