बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने

1200px-Nepali_Congress.svg

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सांसदहरुको एक महिना बराबरको रकम बाढी पीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले बाढी पहिरो पीडितहरुको उद्धार र राहतका पार्टी सांसदहरुले एक महिना बराबरको तलब राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । संसदको ठूलो दल कांग्रेसका २०७ सांसद छन् ।

वाढी पहिरो पीडितहरुलाई राहत र सहयोग उपलब्ध गराउन आर्थिक सहयोग संकलन गर्ने कांग्रेसको निर्णय छ । नेपाल बंैंक लि., कुपण्डोल शाखामा रहेको ‘नेपाली कांग्रेस वाढी पीडित सहयोग कोषको खाता नं. ०१३५-११-००१००७५ मा रकम जम्मा गर्न उसको अपील छ ।

नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ ।

साथै सरकारले संचालन गर्ने उद्धार, राहतका सबै कार्यमा सघाउन पार्टीका सदस्यहरुलाई निर्देशन दिइएको कांग्रेसले जनाएको छ ।