डेथ थ्रेट आयो मर्निङवाक छोडेँ

hirabahadur-660x330
मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो, त्रिभुवन विश्वविद्यालय । यस विश्वविद्यालयमा पदाधिकारी हुन जति आकर्षण छ, नियुक्ति भइसकेपछि दबाब पनि उत्तिकै झेल्नुपर्ने हुन्छ । पछिल्ला केही वर्षयता त विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको छ । यसले पदाधिकारीलाई झनै दबाबमा काम गर्नुपर्ने बाध्यता छ । त्रिविमा पछिल्लोपटक ०६८ मा उपकुलपतिमा नियुक्ति भएका प्रा. डा. हिराबहादुर महर्जनको चारवर्षे कार्यकाल आगामी २२ साउनमा सकिँदै छ । उनी उपकुलपतिमा नियुक्ति भएको दिनदेखि लागेको ताला निरन्तर एक महिनाभन्दा बढीसम्म खोलिएन । त्यसपछि धेरैपटक विश्वविद्यालयमा ताला लागे । उनको कार्यकालमा ताला लगाउनेमा विद्यार्थीभन्दा अग्रणी प्राध्यापक नै देखिए । विश्वविद्यालयमा केही नयाँ कार्यक्रम सञ्चालन गर्न खोज्दा धेरैतिरबाट दबाब आयो, ज्यान मार्नेसम्मको धम्की आयो । आफ्नो चारवर्षे कार्यकालमा के–के भोग्दै छन्, उपकुलपति प्रा. डा. हिराबहादुर महर्जनले ?

जुन दिन त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति पाएँ, त्यही दिनदेखि तालाबन्दी सुरु भयो । म उपुकलपति नियुक्त भएको दिनदेखि लगातार ३६ दिनसम्म तालाबन्दी भयो । मेरो सिफारिसमा रेक्टर र रजिस्ट्रार नियुक्त भएर आउनुभयो । दुई पदाधिकारी आएपछि काम सुरु गर्‍यौँ । म, रेक्टर र रजिस्ट्रारबीच एक–अर्काको विश्वास जित्नुपर्ने अवस्था थियो । बिस्तारै यस्तो वातावरण बन्यो र काम सुरु भयो । सुरुमा विश्वासको वातावरण नहुनुमा भगबन्डाभन्दा पनि पहिले जुन किसिमले उपकुलपतिको नियुक्ति भएको थियो, त्यसमा केही साथीहरूको असन्तुष्टि थियो । त्यही असन्तुष्टिका कारण ३६ दिन तालाबन्दी भयो । यसकारण पनि एक–अर्काको विश्वास नजितीकन काम सुरु गर्न सकिन्छ भन्ने विश्वास मलाई लागेन । यो महसुस उहाँहरू (रेक्टर, रजिस्ट्रार)लाई पनि भएको रहेछ । हामी पदाधिकारीले सुरुमा एउटा प्रतिबद्धता व्यक्त गर्‍र्यौँ र त्यो पूरा गर्‍र्यौँ । हामी प्रतिबद्ध भएमा भनेजस्तो हुने रहेछ, बोलेको कुरा पूरा हुने रहेछ भन्ने लाग्यो र विश्वासको वातावरण बन्यो ।
०००
चारवर्षे कार्यकालमा शैक्षिक कार्यक्रमका साथै भौतिक पूर्वाधार तयार पार्ने कुरामा पनि सफल भएका छौँ । केही महत्त्वपूर्ण शैक्षिक कामका रूपमा हाम्रो विश्वविद्यालयमा कोर्स एकदमै पुरानो भयो भन्ने कुरा आएको थियो । यो अवधिमा ३१ वटा नयाँ कार्यक्रम सञ्चालन गर्‍यौँ । उदाहरणका लागि टी–टेक्नोलोजी, पार्टिकल्चर एन्ड फ्लोरिकल्चर, एमबिए, ग्लोबल लिडरसिप म्यानेजमेन्ट, एमएफसी, बिएससी सिएसआइटीलगायतका छन् । शिक्षाशास्त्र संकायमा पनि एमएड इन फिजिक्स, एमएड इन बायोलोजीलगायत गरी ३१ वटा नयाँ कार्यक्रम सुरु गर्‍यौँ । जसमा इन्टरनेसनल रिलेसन एन्ड डिप्लोमेसी विषय छ । यो निकै नै राम्रो छ । यो विश्वस्तरको छ भन्ने मलाई लागेको छ ।
०००
अरू पूर्वाधारका कुरा छन् । देशभरमा ३४ वटा निर्माणका काम थालनी भएका छन् । कीर्तिपुरमै हेर्ने हो भने एमपिएको भवन निर्माणकार्य सम्पन्न भइसकेको छ । म्यानेजमेन्ट, एजुकेसनलगायतका भवनका काम अन्तिम चरणमा पुगेका छन् । हामी त्रिविको पदाधिकारी भएर आएपछि कीर्तिपुरलाई ‘सेन्टर फर एक्सेलेन्स’मा लाने भन्ने योजना थियो । त्यसको सिलसिलामा धेरै काम भइरहेका छन् । ल्याब साइन्सको ल्याब निर्माण भइरहेको छ, मेडिसिनतर्फ बेसिक साइन्सका लागि पौने चार करोडको भवन सुरु हुँदै छ । हामी आउँदा दोस्रो उच्च शिक्षा परियोजना सञ्चालन भइरहेको थियो । उच्च शिक्षालाई पुनर्संरचना गर्न आएको प्रोजेक्ट करिब–करिब नेपालबाट छोडेर हिँड्ने अवस्था थियो । हाम्रो अथक मिहिनेतपछि ९९ प्रतिशत सफल भएको छ । फेरि अहिले साढे ६ अर्ब रुपैयाँबराबरको उच्च शिक्षा सुधार कार्यक्रम सुरु भएको छ । साथसाथै कीर्तिपुरका सबै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली लागू गरायौँ । त्यसको परिणामस्वरूप अहिले कक्षा राम्रोसँग चलेको छ र रिजल्ट पनि राम्रो आएको छ ।
०००
ठूला–ठूला सम्झौता पनि गरेका छौँ । चाइना एकेडेमिक अफ साइन्ससँग सम्झौता गरेका छौँ । जसले साइन्स र टेक्नोलोजीका विषयमा निकै नै सहयोग गर्न चाहनुभएको छ । उहाँहरू कतिपय विषयमा संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्न पनि तयार हुनुहुन्छ । आँखा अस्पताल सञ्चालन गर्न सम्झौता गरेका छौँ । ब्लड बैंक सञ्चालन गर्ने सम्झौता पनि भएको छ । डेन्टल कलेज सञ्चालन गर्न एउटा कमिटी गठन भइसकेको छ । यसरी ठूला कार्यक्रम पनि सुरु गर्‍यौँ । स्पोर्ट साइन्सजस्तो नयाँ विषय सुरु गर्न लागेका छौँ । खेलकुद परिषद्सँग कभर्डहलका लागि सम्झौता भएको छ । करिब पाँच हजार क्षमताको कभर्डहल बन्छ । यो राष्ट्रमै कतिपय ‘इन्डोर गेम’हरू खेलाउनका लागि प्रयोग गर्न सकिन्छ । यसले स्पोर्टस् साइन्समा ठूलो योगदान पुर्‍याउँछ । हामीले प्रशासनिक सुधार पनि थुप्रै गरेका छौँ । प्रशासनिक काममा पहिले–पहिले थुप्रै खाता खोल्ने चलन थियो, अहिले एउटा खाताबाट मात्रै कारोबार गर्ने गरेका छौँ । एकल खाता प्रणाली सुरु गरेर आर्थिक पारदर्शिता कायम राखेका छौँ ।
०००
सरकारले त्रिविलाई अहिलेसम्म प्राध्यापक–कर्मचारीको टाउको गनेर पैसा दिने चलन थियो । पेन्सनका लागि ठूलो समस्या थियो । हामीले अहिले पेन्सन कोष खडा गरेका छौँ । कोषमा ८७ करोड रुपैयाँ जम्मा भएको छ । उच्च शिक्षा हासिल गर्ने चाहना भएको अवस्था देखेर हामीले देशका कुना–कुनामा क्याम्पस खोल्ने सम्बन्धन पनि दियौँ । यसले उच्च शिक्षामा छात्राको सहभागिता बढाएको छ । अहिले छात्रा सहभागिता ४० देखि ४५ प्रतिशत पुगेको छ । पहुँच बढाउन सकेका कारणले नै सहभागिता बढेको हो । अहिले क्याम्पसहरूलाई गुणस्तर प्रत्यायनको प्रक्रियामा लैजान खोजेका छौँ । यसले प्रणालीगत रूपमा अघि बढ्न सहयोग गर्छ ।
०००
खुला तथा दूर शिक्षा सिकाइ केन्द्र पनि खोल्यौँ । अहिले विद्यार्थी क्याम्पसमा भर्ना हुने, तर पढ्न नआउने समस्या छ । त्रिभुवन विश्वविद्यालयको उत्तीर्ण प्रतिशत नै घटेको छ । त्यसलाई सुधार गर्न सकिन्छ । अहिले क्याम्पस जान नसके पनि घर–घरमा बसेर उच्च शिक्षा दिन सक्ने अवस्था बनेको छ । दूर शिक्षा सिकाइ केन्द्रले अहिले अनलाइनमा जाने र अरू काम पनि गरिरहेको छ ।
०००
देश संघीयतामा गइसकेपछि त्रिविको अवस्था कस्तो हुन्छ भन्ने हामीलाई थाहा छैन । अहिले सरकारले त्रिविकै क्याम्पसहरूलाई समाहित गरेर नयाँ–नयाँ विश्वविद्यालय खोल्ने काम गरेको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई हामीले एउटा क्याम्पस हस्तान्तरण गरिदियौँ । त्यहाँ करिब पाँचदेखि ६ हजार विद्यार्थी पढ्थे, तर अहिले १५–१६ सय विद्यार्थीमा सीमित रहेको सुनेका छौँ । त्रिविलाई गाली गरे पनि जनमानसमा यसको विश्वास छ । हामीले विश्वविद्यालयको व्यापकताका लागि देशबाहिरका एक सय ८२ विश्वविद्यालयसँग सम्झौता गरेका छौँ ।
०००
धेरै काम गर्‍यौँ, तर मिडियामा जान सकेनौँ । मिडियासम्म पुग्न असफल भयौँ । धेरै अत्यावश्यक र आधारभूत कामहरू गरेका छौँ । सेमेस्टर प्रणालीमा जाने, रिसर्च ल्याब बनाउने र कीर्तिपुरलाई सेन्टर फर एक्सेलेन्समा लानेलगायत काम गरेको टिमलाई भिजनरी भएन भन्दै आलोचना गर्न सुहाउँदैन । नेपालको दुर्भाग्य नै भन्नुपर्छ, गरेको कामको समेत जस पाइँदैन । कतिपय नहुने काम गराउनका लागि धेरै प्रेसर पर्छ । त्रिवि यतिवेला होइन, योभन्दा अघिको कार्यकालमै राजनीतिक अखडा बनेको थियो । कुनै पनि राजनीतिक काम गर्न निकै प्रेसर हुन्थ्यो । चारवर्षे कार्यकालमा त्यति सजिलोसँग काम गर्न पाइएन । तर, हरेक समस्यालाई बुद्धिमत्तापूर्वक समाधान गरियोजस्तो लाग्छ । म त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपल हुँदा नै धेरै लफडा झेलेको थिएँ । विद्यार्थीको धेरै प्रेसर थियो । उपकुलपति हुँदा त काम गर्न झन् धेरै चुनौतीपूर्ण हुन्छ भन्ने लागेकै थियो । तर, एकाग्र भएर काम गर्‍यो भने समस्या झेल्न सक्छु भन्ने लागेको थियो । जति काम गर्न सक्छु भन्ने आशा र विश्वास थियो, त्योभन्दा धेरै काम भयो भन्ने मलाई लागेको छ । ३०–४० वर्ष त्रिविमा काम गरेको अनुभवबाट सिकिसकेको थिएँ, अरूले पनि धेरै समस्या झेलेका थिए र मैले पनि झेल्नुपर्नेछ । राजीनामा देऊ भन्ने दबाब पनि आए । तर, हामीले अहिले राजीनामा दियो भने पछि आउने पदाधिकारीले पनि यस्तै समस्या झेल्नुपर्छ भन्ने लागेर सबै एक भएर जुधेका हौँ । मानिसको स्वभाव हो, कहिलेकाहीँ धेरै प्रेसर आउँदा त पाप गरेर आएको हो कि जस्तो पनि लाग्थ्यो । यति गर्दा पनि यस्तो अपजस आउँछ भन्ने लाग्थ्यो । तर, सकेसम्म आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने लाग्यो । र, कथमकदाचित कामै गर्न नदिए पनि कार्यकाल त पूरा गर्नुपर्छ भन्ने लाग्थ्यो । विचलित हुन्न भन्ने थियो ।
०००
धेरै गु्रपबाट प्रेसर आउँथ्यो । विद्यार्थीले आफ्नो काम गराउन प्रेसर दिने भइहाले । नेताहरूले पनि आफ्नै कामका लागि दबाब दिने । टिचर, कर्मचारीले पनि आफ्नो हक–अधिकार खोज्ने नै भए । खासगरी नियुक्ति र सरुवा–बढुवामा बढी प्रेसर आउने गरेको छ । यसपल्ट हामीलाई शिक्षकका वैचारिक गु्रपको बढी प्रेसर आयो । विद्यार्थीको प्रेसर शिक्षकको भन्दा कम थियो । तलब र सरुवाबारे शिक्षकको प्रेसर पर्‍यो । सेमेस्टर चलाउने वेलामा मलाई डेथ थ्रेटसम्मको दबाब आयो । कीर्तिपुरवासीकै कुनै गु्रपबाट यस्तो थ्रेट आएको थियो । सेमेस्टरले विद्यार्थी घट्ने भएपछि आफ्नो डेरा कारोबार घट्ने भएकाले होला, कीर्तिपुरवासीले डेथ थ्रेटको चेतावनी दिए । मलाई भनेकै थिए, तँलाई किन चाहियो यस्तो सेमेस्टर ? हाम्रो रोजीरोटीमा किन आँच आउने काम गरेको ? तिमीलाई सेमेस्टर चलाएर के हुन्छ ? भन्ने प्रश्न गरेर दबाब दिए । नाम उल्लेख नगरिएको डेथ थ्रेटको पत्र आयो । हस्तलिखित पत्र अहिले पनि मसँग सुरक्षित छ ।
०००
हामी जानुभन्दा पहिले नियम नपुगेका कर्मचारी भर्ना गरिरहेको पाइयो । त्यस्ता कर्मचारी हटाउँदा निकै धेरै प्रेसर भयो । जसकारण मैले मर्निङ वाकसमेत गर्न छोडेँ । मैले करिब–करिब ६–सात महिना मर्निङ वाक नै गर्न छोडेँ । राजनीतिक नेताहरूबाट कतिपय सम्बन्धनहरू दिनुपर्छ भन्ने दबाब आयो । सरकारले त्रिविका चारवटा क्याम्पस समेटेर तीनवटा विश्वविद्यालय स्थापना गरेको थियो । त्रिविको सम्पत्ति हस्तान्तरणको कुरामा धेरै प्रेसर आएको थियो । कतिपय कलेजहरूलाई सम्बन्धन दिने कुरामा समस्या आएको थियो । हामीले त्रिविको नियमअनुसार अडान लिएर बुद्धिमत्तापूर्ण तरिकाले समाधान गर्‍यौँ । मापदण्ड पुगेकालाई सम्बन्धन दियौँ, नपुगेकालाई दिएनौँ । म धेरै नै कुरालाई सामान्य रूपमा लिन्छु, त्यसैले पनि कसैलाई नराम्रो गरेकोजस्तो लाग्दैन । प्रेसरबाहेक कुरा काट्ने त भइहाल्छन् ।
०००
अब उपकुलपतिबाट कार्यकाल सकिएपछि केन्द्रीय विभागमा फर्किन्छु । त्यहाँ बसेर केही त्याग गर्न चाहन्छु । लेखरचना गर्न सक्ने भए त्यसमा गर्छु । उपकुलपति भएर काम गर्दा मैले सबै साथीलाई खुसी पार्न सकिनँ होला, त्यसैले पहिला त्यहाँको व्यवहार हेर्छु । यदि व्यवहार मेरो अनुकूल भएन भने बिदामा या राजीनामा दिएर बस्छु । अब, एक वर्ष त बाँकी छ ।
०००
नयाँ आउने भिसीलाई सुझाब उपकुलपति नियुक्त भएर आउने वेलामा जुन विचारधाराको आए पनि मुख्य उद्देश्य भनेको त्रिविको गुणस्तर बढाउने, विश्वस्तरको युनिभर्सिटीमा लाने हुनुपर्छ । त्यहाँको अरू प्रेसरभन्दा काम गर्ने वेला त्रिविलाई कसरी उठाउने भन्ने कुरामै जोड हुनुपर्छ । अहिलेका राम्रा कामलाई निरन्तरता दिनुपर्छ । पहिले गरेर गएका राम्रा कामलाई हामीले पनि निरन्तरता दिएका छौँ । विशेष गरेर आफ्ना पदाधिकारीलाई कन्फिडियन्समा लिएर काम गर्न सकियो भने धेरै काम गर्न सकिन्छ । – Source:enayapatrika