पार्टी एजले होइन एजेण्डाले र पुस्ताले होइन प्रवृत्तिले चल्नुपर्छ

bishwo
२००७ सालमा उठेको संविधानसभाको माग प्रसंग २०६४ सालमा पुरा भयो । उक्त संविधानसभाले जनचाहना अनुसारको संविधान सहितको निकास दिन नसकि प्राप्तिहिन अवसान भयो । ततः पश्चात २०७० सालमा भएको संविधानसभाको दास्रो निर्वाचनले यो देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई ठुलो दलको रुपमा स्थापित गरिदियो । मुलुक अहिले संविधान निर्माणको अन्तिम घडिमा छ भने नेपाली कांग्रेसको महाधिवेशन पनि आगामी असोज २ देखी ५ गतेका लागी तय भएको छ । नेपाली कांग्रेस भित्र र बाहिरी वृत्तबाट समेत कांग्रेसलाई वैचारिक, वैज्ञानिक, व्यवहारिक र जिवन्त बनाउन सक्ने बौद्धिक युवा नेता विश्वप्रकाश शर्मा जसलाई क्षमतावान भएकै कारण आफु भन्दा सिनियर र समकक्षीहरुबाट राजनीतिक अप्ठ्यारो पारिएको भनिन्छ यद्यपी उनी यो कुरामा सहमत छैनन् । यसै सन्र्दभमा जय नेपाल पाटीका संवाददाता जमुना सापकोटासँग गरिएको कुराकानी ।

 आजभोली के मा व्यस्त हुनुहुन्छ ?
म अहिले पार्टीको महाधिवेशनको तयारी र महाधिवेशनमा आफुलाई लागेको विचर प्रवाह गर्नमा क्रियाशिल छु ।
 नेपाली कांग्रेसको अधिवेशन त फेरी स¥यो नि ?
छ दशक लामो जनताको आकांक्षालाई संवोधन गर्ने संविधान निर्माणका लागी अधिवेशन सर्नु स्वभाविक हो, तर हामीले थोरै क्रुटि भने ग¥यौ । गत साल यतिखेर हामी फुर्सदमा थियौ संविधान निर्माणको चटारो पनि त्यति धेरै थिएन त्यो समयमा गर्न सकिएन अहिले दुःख पाइयो ।
 फेरी पनि महाधिवेशन सर्ने सम्भावना के छ ?
सम्भावना देखिन्छ तर नसार्नुृ नेतृत्वको योग्यता हुनेछ ।
 तर महाधिवेशन सार्न कानुनी जटिलता छ भनिन्छ नि ?
एमालेको महाधिवेशन पनि केहि महिना क्रस गरेर भएको थियो । त्यसो भन्दैमा कांग्रेसले पनि विद्यमान व्यवस्थालाई मिच्नु पर्छ भन्ने होइन । संविधान बन्ने काम पनि अघि बढ्नुपर्छ र पार्टी अधिवेशन पनि हुनुपर्छ । त्यसका लागी समय व्यवस्थापन गर्न सकिन्छ । कांग्रेस वा एमालेको अप्ठ्यारो हेरेर संविधानको धारा बनाउने होइन, संविधानको धारामा बसेर दलहरुले आफ्नो अप्ठ्यारोको उपचार गर्नु पर्छ ।
 तपाई अहिले महाधिवेशनमा के को तयारी गर्दै हुनुहुन्छ ?
म आगामी १३ औँ महाधिवेशनमा केन्द्रिय सदस्यको उमेद्वारी दिने तयारीमा छु ।
 विश्वप्रकाश शर्मा अघिल्लो पटकनै केन्द्रिय समितिमा लड्नुपर्ने हो भनिन्छ नि ?
स्वभाविक हो अघिल्लो अधिवेशनमा झापा पार्टी सभापती हारेको र हारेको एक महिनामा फेरी माथिल्लो तहमा नलड्नु नैतिक रुपमा जरुरी थियो र अहिले लड्नु राजनीतिक रुपमा जरुरी छ ।
 गत संविधानसभा निर्वाचनमा क्षमतावान भएका कारण कतै आफुभन्दा माथि जाने हो कि भन्ने डरले पार्टी भित्रैबाट आन्तरिक रुपमा अप्ठ्यारो पारिएको भनिन्छ नि ?
त्यो गलत हो, मैले चुनाव हार्नुको पछाडि नेपाली कांग्रेसको संगठन भन्दा ने.क.पा. एमालेको संगठन बलियो हुनु हो । चुनावमा मलाई पार्टीका सबै नेताहरुले सहयोग गर्नु भएको थियो ।
 तपाई पार्टी भित्र कुन पक्ष हो ?
म पार्टी मा स्थायी प्रतिपक्ष र स्थायी संस्था भन्ने दुवै पक्षको विपक्षमा छु, विगतको पार्टीको ५ वर्षलाई हेरेर पार्टी हाँक्न सक्ने नयाँ खालको नेतृत्व आउनुपर्छ ।
 पार्टी भित्र केन्द्रिय सदस्य र पदाधिकारी बढाउने वा यहि राख्ने भन्ने कुरा चलिरहेको छ यसमा तपाई के भन्नुहुन्छ ?
शुसिल दाई वा शेरबहादुर दाईले के भन्नुहुन्छ भनेर होइन संघियताले के भन्छ भनेर टुङ्गोमा पुग्नु पर्छ ।
 उपयुक्त चाँही के हो त ?
संघियतालाई नेतृत्व गर्ने, संघियतामा बन्ने पार्टी संरचनालाई संयोजन गर्न कम्तिमा एक पदाधिकारी पुग्ने गरी पार्टीको केन्द्रिय संरचना बनाइनुपर्छ ।
 पार्टी भित्र उमेरको हदवन्धीका विषयमा के छ तपाईको धारणा ?
को मान्छे कति उमेरमा गएर योग्य हुन्छ भन्ने कुराको कुनै आध्यात्मिक वा वैज्ञानिक तथ्य हुदैँन, राजनीतिमा कहिले ४६ वर्षको बाराक ओवामाले ६५ वर्षका जोन मक्केन र कहिले ८६ वर्षका गिरीजाप्रसादले ५६ वर्षका प्रचण्डलाई पछि लगाउछन् । तसर्थ राजनीति एजले होइन एजेण्डाले र पुस्ताले होइन प्रवृत्तिले गर्नु पर्छ ।
 तपाई राजनीति गर्नुहुन्छ, तपाईको आन्तरिक जिवनको आर्थिक पक्ष के हो ?
मैले सबै नेता–कार्यकर्तालाई भन्ने गर्छु ३ दिन पार्टीका लागी र ४ दिन रोटीका लागी समय दिनुस्, मेरो आर्थिक पक्ष भनेको नयाँबानेश्वरमा ट्राभल्स एजेन्सि छ त्यस्तै झापाको कलेजमा लगानी छ र खेतीपातिहरु पनि छन् जसले मलाई आफ्नो खुट्टामा उभिएर राजनीति गर्न एक हद सम्म सहज बनाएको छ ।
 अन्त्यमा महाधिवेशन प्रतिनिधिहरुलाई के भन्नुहुन्छ ?
पार्टीको नेता र नेतृत्व चयनमा मात्र नभई महाधिवेशन मार्फत पार्टीलाई कसरी आधुनिक, व्यवस्थित, वैज्ञानिक र विकसित नयाँ सुचना प्रविधिसँग आवर टु आवर अपडेट गराउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ