सम्पदा युनेस्कोमा पठाइसकेकामध्य जनकपुर एक

माघ, विश्व सम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरघामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ।
यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्तरुपमा विद्यमान रहेकाले सांस्कृतिक विश्व सम्पदामा सूचीकृत गराउन प्रक्रियागत रुपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो।
राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकामध्य जनकपुर पनि एक हो। राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणाअनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको छ।
पुरातत्व विभागका अनुसार हालसम्म विश्वका १ सय ६३ देशका एक हजार ३१ स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् सोमध्ये नेपालका चारवटा रहेका छन्। पुरातत्वविद् भीमप्रसाद नेपालले मैथिल सभ्यताको अतुलनीय विशिष्ट प्रमाण बोकेको र मानव इतिहासमा महत्वपूर्ण अवस्था दर्शाउने सम्पदा जनकपुर क्षेत्रमा विद्यमान रहेको बताए। यस क्षेत्रको विकासलाई यहाँका सांस्कृतिक स्रोतले सम्भव बनाएको हो भनी बुझ्नु जरुरी छ भन्दै उनले भने–“यहाँका सम्पदा लुम्बिनी र पशुपतिनाथ झैँ अद्वितीय रहेको छ।”
वैदिक वाङ्मय पुराण तथा धार्मिक साहित्यमा जनकपुरको अस्तित्व अनादिकालदेखि नै रहेको उल्लेख छ। त्रेतायुगमा उत्कर्षमा रहेको मिथिला द्वापरयुगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा सोह्रौँ शताब्दीपछि पुनः प्रकट भएको भनिन्छ। जनकपुर क्षेत्रका मठ–मन्दिर र तिनमा सुरक्षित मूर्ति, गढगढीहरु इतिहासका अनेक उत्थान पतनका तथ्य अहिले पनि गर्भमै रहेको छ।
पुरा कथा, सनातन मूल्य, सभ्यताको प्राचीनता र चरमोत्कर्ष जनककालीन जनकपुरको कथा, बज्जि सङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय, सेन र पालकालीन अवस्था ती मठ, मन्दिर, मूर्ति र गढ–गढीको गर्भमा लुकेको बताइन्छ।
यहाँ पाषाणका मूर्तिमा केही पालकालीनका छन् भने केही मध्यकालीन समयका छन्। केही भने अयोध्यामा रहेका मूर्तिजस्ता देखिन्छन् । पुरातात्विक अंश भएका केही मन्दिरहरु राम, लक्ष्मण, जनक, कुपेश्वरनाथ, जानकी, हनुमानगढी, कपिलेश्वर र रत्नसागर उल्लेखनीय रहेको छ। जनकपुरका ऋषि–मुनि दूरदर्शी थिए, उनीहरुले इतिहास लेख्नका लागि यस्तो क्यानभासको परिकल्पना गरी त्यसलाई मूर्तरुप दिए जो नष्ट भएर पनि नष्ट हुने खालको थिएन, त्यो क्यानभास थियो–पत्थर । हरेक युगमा यहाँ पत्थरका मूर्ति उत्कृष्ट हुँदै आएको छ।
यस क्षेत्रमा पाइने मूर्त र अमूर्त पुरातात्विक सम्पदा सामान्यतः मौर्य, शुँग, कुषाण, गुप्त, पाल, सेन राज्यवंश र पछि मकवानपुरका सेन राजाको समयलाई बोध गराइरहेको छ भने विभिन्न गढीले मानव सभ्यताको विकास क्रमलाई गरी रहेको छ। जनकपुर क्षेत्रका मठ–मन्दिर शिखर शैलीका छन् भने केही गुम्बाकार वास्तु शैली, पैगोडा शैली र मैथिल वास्तु शैलीका छन्। जानकी मन्दिर मैथिल, राजपूत र इस्लामी वास्तु शैली, राममन्दिर र विवाह मण्डप नेपाली वास्तु शैली र जनक, लक्ष्मण मन्दिर गुम्बाकार वास्तु शैलीमा तथा कुपेश्वरनाथको मन्दिर मैथिल वास्तु शैलीमा बनेको पाइन्छ।
पुरातत्वविद् नेपालले यस क्षेत्रका धरोहरहरु वर्तमान पुस्ताका लागि जति आवश्यक छन्, भावी पुस्ताका लागि त्यतिकै आवश्यक भएकाले यस क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्नुपर्नेमा जोड दिए। प्राध्यापक डा. भोगेन्द्र झाले विश्व सम्पदामा समावेशले गौरव, सम्मान र पर्यटकीय गतिविधिमा वृद्धि र आर्थिक लाभजस्ता पक्ष गाँसिएकाले यस कार्यलाई इमान्दारीतापूर्वक अगाडि बढाउनुपर्ने बताए।
अर्का प्राध्यापक डा सोनफी यादवले राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसँग टाँसिएर रहेको शिशुनारीको मूर्ति पाल कालको भएको र सो मूर्ति सम्भवतः यस नगरको प्राचीनतम् रहेको बताए। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माले यस क्षेत्रलाई राष्ट्रिय गौरवका क्षेत्रमा राख्दै विश्व सम्पदामा समावेशका जटिलताको प्रयासको खाँचो रहेको औँल्याए। यस क्षेत्रमा अहिलेसम्म पुरातात्विक उत्खननको प्रयास खासै नभएको अवस्थामा मूर्ति र एक्कासि माटो खन्दा प्राप्त सामग्रीले पनि दुर्लभ जानकारी दिइरहेकाले विश्व सम्पदामा सूचीकृत गराउनमा सहायकसिद्ध हुने विश्वास गरिएको छ।
बावन कुटी बृहत्तर पोखरीको नगर नामले प्रसिद्ध यस क्षेत्रलाई आदर गरी एक उत्कृष्ट नमुनाको प्रतिनिधित्वका रुपमा विश्वको मान चित्रमा स्थापित गराउनुपर्ने प्राध्यापक महेन्द्रनारायण मिश्रले बताए। रासस