भूकम्प र देशको अस्थिर राजनीतिका कारण ५० हजार पर्यटक घटे

विनाशकारी भूकम्प र चार महिना लामो नाकाबन्दीका कारण पदयात्राका लागि विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गमा ५० हजार पर्यटक घटेका छन्। पर्यटक आगमन ठप्प बनेपछि यो अवधिमा यस क्षेत्रका व्यवसायीले कम्तीमा साढे एक अर्ब रुपैयाँ आम्दानी गुमाएका छन्।
‘भूकम्प र देशको अस्थिर राजनीतिका कारण एक वर्षमा ५० हजार तीन सय पाँच पर्यटक घटेका छन्, यो सामान्य विषय होइन’, एक्याप प्रमुख लालप्रसाद गुरुङले भने, ‘पर्यटक घटेको यो अहिलेसम्मकै न्यून हो।’ एक्यापले यो क्षेत्रमा सन् १९८९ देखि पर्यटकको तथ्यांक संकलन, पदमार्गको मर्मतसम्भार र स्थानीयलाई प्राकृतिक सम्पदाको संरक्षणका लागि प्रेरित गर्ने काम गर्दै आएको छ।
एक्यापको केन्द्रीय कार्यालयका पर्यटन अधिकृत रेश्मी आचार्यले दिएको जानकारीअनुसार सन् २०१५ को जनवरीमा चार हजार नौ सय ८५, फेब्रुअरीमा आठ हजार ४७, मार्चमा १५ हजार नौ सय ६९, अप्रिलमा एक हजार दुई सय ९१, मेमा एक हजार तीन सय एक, जुनमा नौ सय ७३ र जुलाईमा ६ सय ३० पर्यटक भित्रिए।
त्यस्तै, अगस्टमा एक हजार आठ सय ७०, सेप्टेम्बरमा पाँच हजार ६ सय ४३, अक्टोबरमा ११ हजार पाँच सय सय ९४, नोभेम्बरमा सात हजार दुई सय ६३ र डिसेम्बरमा चार हजार दुई सय ७६ पर्यटक भित्रिएका छन्। ‘भूकम्प जानुअघि सही ढंगले चलेको पर्यटकको चहलपहल त्यसपछि भने ठप्प बनेको देखिएको छ’, पर्यटन अधिकृत आचार्यले भनिन्।
दर्जनौं हिमशृंखला, उच्च हिमाली क्षेत्रका ग्रामीण बस्ती, तिब्बती कलासंस्कृतिको अध्ययन, मुस्ताङ र मनाङको फरक भू-बनोट, मुक्तिनाथ, कागबेनीलगायतका प्रसिद्ध धार्मिक स्थलजस्ता कारणले भदौ, असोज, कात्तिक, चैत, बैशाख, जेठ र असार महिनामा विश्वभरबाट यस क्षेत्रमा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने गर्छ।
सुरुमा यात्राका लागि २१ दिनसम्म लाग्ने यो पदमार्ग अहिले मनाङ र मुस्ताङका अधिकांश स्थानमा समेत सडक सञ्जालको विस्तार भएका कारण सातदेखि १२ दिनमा झरेको छ।
‘भूकम्पपछि पनि यस क्षेत्रको अवस्था सामान्य नै थियो तर जोखिम छ भनेर अन्तर्राष्ट्रियस्तरमा प्रचार भयो, त्यसपछि देशको अस्थिर राजनीतिले पर्यटक चाहेर पनि आउन मानेनन्’, एक्याप लोमान्थाङ प्रमुख सन्तोष शेरचनले भने, ‘यो अवधिमा आउन चाहने सबैले आफ्नो भ्रमण रद्द गरे।’ एक्यापले पोखरा, घान्द्रुक, मनाङ, जोमसोम, लोमान्थाङलगायतका स्थानबाट पर्यटकको तथ्यांक संकलन गर्दै आएको छ।
एक वर्षमा ५० हजार तीन सय पाँच पर्यटक घट्दा यस क्षेत्रमा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको छ।
पर्यटकको शुल्कबाहेक एउटा पर्यटकले सरदर गर्ने खर्चको अनुपातमा कम्तीमा एक अर्ब ५० करोड ६४ लाख रुपैयाँ घाटा भएको एक्याप आयोजनाका प्रमुख गुरुङको भनाइ छ।
यस क्षेत्रको भ्रमणका लागि आउने सार्क राष्ट्रका पर्यटकले दुई हजार र तेस्रो मुलुकका पर्यटकले चार हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। मुस्ताङका १६, मनाङका १३, म्याग्दीका तीन, कास्कीका १८ र लमजुङका सात गरी ५७ गाविस समेटिएको पदमार्ग क्षेत्रमा तीन सयको हाराहारीमा साना तथा ठूला होटेल सञ्चालनमा छन्।
यस क्षेत्रको पदयात्रामा आउने एकजना पर्यटकले कम्तीमा पनि सात दिन बिताउने र प्रतिदिन तीन हजार रुपैयाँ खर्च गर्ने गरेको एक्यापले जनाएको छ। ‘यो हिसाबले एकजनाले भ्रमण अवधिभर प्रवेश शुल्कबाहेक २१ हजार रुपैयाँ खर्च गर्छ’, प्रमुख गुरुङले भने।