प्याराग्लाइडिङको प्रि–वर्ल्ड कप प्रतियोगिता सुरु

साहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङको प्रि–वर्ल्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा भएको सो प्रतियोगितामा सहभागी पाइलटले पर्यटकीयस्थल सराङकोटको एक हजार ४०० मिको उचाइबाट उडान भरी फेवातालको किनारास्थित खपौदीमा अवतरण गरेका थिए।
प्रतियोगिताको पहिलो दिन प्राविधिकबाट सराङकोटमा पोखराको आकाश र टाक्सका बारेमा सहभागी पाइलटलाई विस्तृत जानकारी गराइएको थियो। यही फागुन २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता अन्तर्गत आज भएका अभ्यास खेलका रुपमा सराङकोटबाट गरिएका खेलको सहभागीको अङ्क भने नजोडिने नाका अध्यक्ष योगेश भट्टराईले जानकारी दिए।उनका अनुसार नेपालमा खुला प्याराग्लाइडिङ प्रतियोगिताको १७औँ संस्करणसम्म निरन्तर रुपमा सञ्चालन हुँदै आएकाले आगामी वर्ष नेपालमा विश्वकप प्याराग्लाइडिङ खेल हुने तयारी स्वरुप प्रि–वर्ल्ड कप आयोजना गरिएको हो । प्रतियोगितामा नेपाल सहित २६ राष्ट्रका १५० प्याराग्लाइडिङका पाइलट सहभागी छन्। डेढ सय राष्ट्रका २०० बढी पाइलटबाट उनीहरुको उत्कृष्टताका आधारमा छनोट गरिएको प्राविधिक संयोजक रवीन गुरुङले बताए।

नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितासहित पाँच खेलमा प्रतिस्पर्धा हुने प्रतियोगितामा खुलातर्फ विजेताले रु ५० हजार, उपविजेताले रु ४० हजार, तेस्रो विजेताले रु ३० हजार पुरस्कार पाउने छन्। त्यसैगरी नेपालीबीचको प्रतिस्पर्धामा विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र सान्त्वना हुने दुई जनाले जनही रु पाँच-पाँच हजार र साथमा ट्रफी प्राप्त गर्नेछन् ।

महिला र स्पोर्ट क्लासतर्फको विजेतालाई जनही रु ३०-३० हजार, उपविजेतालाई रु २०-२० हजार र तेस्रो हुनेलाई रु १०-१० हजार र साथमा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। आजै साँझ लेकसाइडस्थित बाराही चोकबाट राष्ट्रिय झन्डा र बाजागाजासहितको स्वदेशी तथा विदेशी, प्याराग्लाइडिङ पाइलटद्वारा मार्चपास समेत गरिएको थियो। रासस